एजेन्सी । दक्षिण कोरियाले विद्यालयहरूमा कक्षाको समयमा मोबाइल फोन र स्मार्ट उपकरणहरूको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । संसदमा उपस्थित एक सय ६३ सदस्यमध्ये एक सय १५ जनाले पक्षमा मतदान गर्दै विधेयक सर्वसम्मत रूपमा पारित गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
सन् २०२६ को मार्चमा अर्काे शैक्षिक सत्रदेखि यो कानून लागू हुने छ । दक्षिण कोरियाका सांसद, अभिभावक र शिक्षकहरूले स्मार्टफोनको प्रयोगले विद्यार्थीहरूको शैक्षिक प्रदर्शनलाई असर गरिरहेको र उनीहरूले अध्ययनमा बिताउन सक्ने समय खेर फालिरहेको भनिरहेकोबेला यो विधेयक पारित भएको हो ।
यो प्रतिबन्धले कसरी काम गर्छ, यसको व्यापक प्रभाव के छ र यसले लतको मूल कारणलाई सम्बोधन गरिरहेको छ कि छैन भन्ने प्रश्न भने उठेको छ । धेरैजसो दक्षिण कोरियाली विद्यालयहरूले पहिले नै कुनै न कुनै रूपमा स्मार्टफोन प्रतिबन्ध लागू गरिसकेका छन् यसअघि फिनल्यान्ड र फ्रान्सजस्ता केही देशहरूले साना बालबालिकाका लागि बनाइएका विद्यालयहरूमा मात्र प्रतिबन्ध लागू गर्दै सानो स्तरमा फोन प्रयोगमा प्रतिबन्ध लगाएका छन् ।
इटाली, नेदरल्यान्ड्स र चीनजस्ता अन्य देशहरूले सबै विद्यालयहरूमा फोन प्रयोगमा प्रतिबन्ध लगाएका छन् । तर दक्षिण कोरिया प्रतिबन्धलाई कानूनमा स्थापित गर्ने थोरै देशहरूमध्ये एक हो । सन् २०२४ को सरकारी सर्वेक्षण अनुसार दक्षिण कोरियाको ५ करोड १० लाख जनसंख्यामध्ये झन्डै एक चौथाइ फोनमा धेरै निर्भर छन् । तर दशदेखि १९ वर्ष उमेर समूहमा यो संख्या ४३ प्रतिशत छ ।





