काठमाडाैं । पछिल्लो एक सातामा देशभर दुई सय ११ जना डेंगुको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्रतर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक साताको अवधिमा ७४ जिल्लामा दुई सय ११ जना डेंगुका नयाँ बिरामी भेटिएका हुन् ।
योसँगै गत जनवरी यता देशभर तीन हजार २४७ जनामा डेंगु संक्रमण भएको छ भने दुई जना सङ्क्रमितको मृत्यु भएको महाशाखाले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा नाै सय १४ जनामा डेंगु पुष्टि भएको छ ।
त्यसैगरी बागमतीमा ६ सय ७५, कोशीमा पााँच सय ६८ लुम्बिनीमा पाँच सय ५१, सुदूरपश्चिममा तीन सय ८४, कर्णालीमा ९३ र मधेशमा ६२ जनामा डेंगु पुष्टि भएको छ । यस्तै जिल्लागत रूपमा हेर्दा काठमाडौँ र कास्कीमा डेंगुका धेरै बिरामी भेटिएका छन्।
नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो। नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा डेंगी पुष्टि भएको थियो । पछिल्ला वर्षहरूमा वर्षायाममा डेंगु गम्भीर स्वास्थ्य समस्याको रूपमा देखिने गरेको छ





