काठमाडाैं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रदेश, पालिका, संघीय सांसदको संख्या बढी भएको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेशहरुको संख्या, पालिकाको संख्या र संघीय सांसदहरुको संख्या बढी भएकाले यसबारेमा विचार गर्न जरुरी रहेको बताउनुभएकाे हाे।
प्रमुख सचेतक घिमिरेले संविधान संशोधन गर्न सकिने भएकाले त्यसमा चिन्ता लिन नपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारले संविधान संशोधनको एजेण्डालाई आफ्नो सहमतिको दस्ताबेजमा राखेको तर कठिन विषय रहेको पनि बताउनुभयो । एक वर्षमा कुन विषयमा संशोधन गर्ने भन्ने कुरा पनि तय गर्न नसकिएको उहाँको भनाइ छ ।
राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता विषयलाई छुँदै नछुने हो भने अन्य विषयमा संशोधन गर्न त्यत्ति गाह्रो नपर्ने तर अर्थ नराख्ने स्पष्ट पार्नुभयो । राज्यको आर्थिक अवस्थाले अहिलेका संरचनाहरु धान्न कठिन भएको बताउनुभयो ।
प्रमुख सचेतक घिमिरेले संविधानको पूर्ण कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । संविधान निर्माण गर्ने बेलामा हौसिएर कार्यान्वयनमा ल्याउन व्यवहारिक नभएका केही कुराहरु बढाएर राखिएको बताउनुभयो ।





