पर्वतको महाशिलामा रहेको फलामखानी उत्खनन गर्न स्थानीयको माग | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

पर्वतको महाशिलामा रहेको फलामखानी उत्खनन गर्न स्थानीयको माग

काठमाडौँ ।
महाशिला गाउँपालिका ६ मा रहेको सम्भावित फलामखानी उत्खनन गर्न स्थानीयवासीले पुनःमाग गरेका छन् । गएको चार वर्षअघि पनि खानी तथा भूगर्भ विभागको टोलीले खानीको उत्खनन गर्न प्रक्रिया शुरु गरेको भए पनि अध्ययन, अनुसन्धान मात्र गरेर फर्किएको थियो ।भूगर्भविद्हरूले इआरटी इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजीका माध्यमबाट अध्ययन गर्दा प्रशस्त फलाम रहेको प्रमाण भेटिएको जनाइएको थियो । दुई किलोमिटर लम्बाइमा खानी फैलिएको अनुमान छ ।

तर स्थानीयले पटकपटक फलामखानीको उत्खनन माग गर्दा पनि कतैबाट तदारुकता नदेखाएपछि निरास बनेका छन् ।कहिले केन्द्र सरकार त कहिले प्रदेश सरकारसँग उत्खननको माग गरे पनि नीति तथा कार्यक्रममा चर्चा हुने तर बजेट विनियोजन नहुने समस्या भएकोे महाशिला ६ का वडाध्यक्ष गोविन्दबहादुर विकले बताए।

धुवाँकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीको नेपाल पर्वत खनिज उद्योगबीच २०६७ पुस ८ गते सम्झौता पनि भएको थियो । तर कम्पनीले लामो समय चासो नदेखाएपछि विभाग आएर अध्ययन गरे पनि अन्य प्रक्रिया भने शुरु नभएको उनले जानकारी दिए।फलामखानी सदरमुकाम कुश्मा बजारबाट झन्डै ३५ किलोमिटरको दूरीमा रहेको छ । फलामखानी उत्खनन् भए देशकै आर्थिक अवस्था सुधारमा फाइदा पुग्नुका साथै सयौँ युवायुवतीले रोजगारीको अवसर पाउने स्थानीयको बुझाइ छ ।

 

Leave a Reply