दैलेखमा भेटिएको मिथेन ग्यास नेपाललाई ऊर्जा आत्मनिर्भर बनाउने ऐतिहासिक अवसर हो । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र उत्पादन गरेर वितरणको व्यवस्था गर्न निर्देशन दिएका छन्, यसैगरी सरकारले सबै राजनीतिक दललाई समेटेर छलफल गरी उत्पादनका लागि प्राविधिक तथा राजनीतिक सहयोग लिनु आवश्यक छ । ग्यासको सफल उत्पादनका लागि वैज्ञानिक योजना, सर्वदलीय समन्वय, स्थानीय सहभागिता र पारदर्शिता अनिवार्य विषय हो ।
दैलेखको शक्तिकोट क्षेत्रमा भेटिएको मिथेन ग्यास नेपालका लागि ऊर्जा आत्मनिर्भरतातर्फको ऐतिहासिक ढोका हो । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र ग्यास वितरणयोग्य बनाउने घोषणा गरेका छन्, जुन उत्साहजनक छ । तर राजनीतिक, प्राविधिक र सामाजिक पक्षलाई बेवास्ता गरेर गरिएको अग्रसरता दीर्घकालीन दृष्टिले असफल हुने जोखिम पनि उत्तिकै छ । राष्ट्रिय गौरवका यस्ता विषयमा सबै दललाई समेटेर छलफल नगर्नु तथा साझा दृष्टिकोण नबनाउनु सरकारको रणनीतिक कमजोरी देखिएको छ ।
चीन सरकारको सहयोगमा चिनियाँ जियोलोजिकल सर्वेले गरेको अध्ययनबाट दैलेखमा एक अर्ब १२ करोड घनमिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको पुष्टि भएको छ । जुन नेपालका लागि ऊर्जा आत्मनिर्भरताको ऐतिहासिक अवसर हो । यो ग्यासको व्यावसायिक उत्पादनले हाल भारतबाट पूर्णरूपमा आयात भइरहेको एलपी ग्यासलाई प्रतिस्थापन गर्न सक्नेछ । वार्षिक रूपमा देशबाट बाहिरिने अर्बौँ रुपैयाँ जोगिने र देशको बढ्दो व्यापार घाटा न्यूनीकरणमासमेत मद्दत पुग्ने देखिन्छ । मिथेन ग्यासले खाना पकाउने इन्धनको मात्र नभइ विद्युत तथा वैकल्पिक ऊर्जासमेत उत्पादन गर्न सकिन्छ । चिनियाँ सर्वे कम्पनीले गरेको अध्ययन अनुसार दैलेखमा भेटिएको मिथेन ग्यासले नेपालको करिब ५० वर्षको ऊर्जा माग समाधान गर्नेछ ।
तर सरकारले ग्यास उत्पादनको तयारीलाई प्राथमिकतामा राखेको देखिए पनि विद्यार्थी संगठन, दबाब समूह, स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिहरुलाई कुनै जिम्मेबारी दिएको देखिदैन । यस्तो राष्ट्रिय महत्व र गौरवको विषय सबै राजनीतिक दल र जनताको साझा अपनत्व बिना दीर्घकालीन सफलता कठिन हुन्छ । यस्तो काम सरकारले एक्लैले होइन, सबै राजनीतिक दल, स्थानीय सरकार, जनप्रतिनिधि, विज्ञ समूह र आमसर्वसाधारणको सहकार्यमा गर्नु राम्रो हुन्छ । सरकारले सर्वदलीय बैठक आह्वान गरी सबैको भूमिका सुनिश्चित गर्नु आवश्यक छ । अन्यथा, राजनीतिक अविश्वास, स्थानीय असन्तोष र प्राविधिक कठिनाइका कारण उत्खनन् कार्यमा ढिलाइ आउने मात्र होइन असफल हुने खतरा पनि उत्तिकै रहन्छ ।
दैलेखको मिथेन ग्यास केवल एउटा स्थानीय खानी होइन, राष्ट्रिय ऊर्जा सुरक्षाको भरपर्दो आधार बन्नसक्ने स्रोत हो । सही दृष्टिकोण र सहकार्यसहित सफल उत्पादन र वितरण गर्न सकियो भने हामी आत्मनिर्भर बन्ने छौ । नेपालको सपना साकार पार्न सक्छौँ । यसका लागि सरकारले दीर्घकालीन नीति, राजनीतिक सहकार्य र जनसहभागितामा जोड दिनु अत्यावश्यक छ । देशका महत्वपूर्ण विषयमा सवै राजनीतिक दलको सहयोग लिएर सरकारले काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ, जसले हाम्रो दिगो विकासको आकांक्षा पूरा गर्न मद्दत पुग्छ । अबको समय गफ गर्ने होइन, काम गरेर नतिजा हात पार्ने समय हो ।





