काठमाडाैं । उर्जामन्त्री दीपक खड्काले प्रशारण लाइन निर्माणमा निजी क्षेत्रलाई साथ लिएर हिँड्न सरकार तयार रहेको बताउनुभएको छ । राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जलविद्युत क्षेत्रका पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि बढाउन तयार रहेको बताउनुभएकाे हाे ।
मन्त्री खड्काका अनुसार विद्युत् उत्पादन क्षमता हेरेर प्रशारण लाइन निर्माणमा लाग्नुपर्छ । कुन करिडोरमा कति क्षमतामा विद्युत उत्पादन हुन्छ, त्यसको यकिन गरेर विद्युत प्रशारण लाइन निर्माण गर्नुपर्ने बताउँदै उहाँले जसले गर्दा एउटै जग्गा र वन अधिग्रहण गरे पुग्ने बताउनुभयो ।
मन्त्री खड्काले जलविद्युत उत्पादन गर्दै गर्दा वातावरणीय असरलाई पनि ख्याल गर्नुपर्ने उल्लेख गर्नुभयो । मन्त्री खड्काका अनुसार भारत–चीन दुई छिमेकी मुलुकबाट ऊर्जा क्षेत्रमार्फत फाइदा लिनुपर्छ । विद्युत्को माग दिनानुदिन बढ्दै गएको छ, अब उत्पादन बढाउन लाग्नुपर्छ ।
ऊर्जामन्त्री खड्काले मुलुकको मुख्य आयस्रोतको मेरुदण्डका रूपमा ऊर्जा क्षेत्रलाई लिएको बताउँदै दश वर्षका लागि ऊर्जा विकासको खाका सरकारले अगाडि बढाएको बताउनुभयो । खड्काले सबैभन्दा छिटो मुलुकको आर्थिक विकास र अर्थतन्त्र चलायमान हुने क्षेत्र ऊर्जा क्षेत्र भएकाले निजी क्षेत्रलाई साथमा लिएर सरकार ऊर्जा विकासमा लागिरहेको स्पष्ट पार्नुभयो । सरकार ऊर्जा क्षेत्रलाई तिब्र गतिमा अगाडि बढाउन खोजेको उनको भनाइ थियो ।





