तनहुँमा नस्ल सुधारका लागि नौ हजार पशुमा कृत्रिम गर्भाधान | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

तनहुँमा नस्ल सुधारका लागि नौ हजार पशुमा कृत्रिम गर्भाधान

 काठमाडौँ । 
तनहुँमा एक वर्षमा नौ हजार पाँच सयभन्दा बढी पशुको कृत्रिम गर्भाधान गरिएको छ । १० वटा कृत्रिम गर्भाधान केन्द्रबाट आर्थिक वर्ष २०८१र८२ मा नौ हजार पाँच सय ५२ पशुको कृत्रिम गर्भाधान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।पछिल्लो केही वर्षयता जिल्लामा कृत्रिम गर्भाधानप्रति कृषकको आकर्षण बढ्दो छ ।
आर्थिक वर्ष २०८०र८१ मा आठ हजार एक सय १३ र आर्थिक वर्ष २०७९र८० मा सात हजार नौ सय १६ पशुमा कृत्रिम गर्भाधान गरिएको थियो । नेपालमा पालिएका दुधालु गाईको नस्ल सुधारका लागि सरकारले कृत्रिम गर्भाधानमा प्राथमिकता दिँदै आएको  केन्द्र बताएको छ।
पशुहरूमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननका लागि भाले जनावर पाल्नु नपर्ने, हाडनाता प्रजननबाट उत्पादकत्वमा हुने ह्रास नहुने र प्रजननको माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिने केन्द्रको भनाइ छ ।कृत्रिम गर्भाधान गरेको तीन वर्षभित्रै पशुहरूले आफ्नो उत्पादकत्व दिन सक्ने छन ।
जिल्लामा उत्पादन हुने दूधलगायत दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि भई बाहिरी जिल्लाबाट उन्नत पशुहरु आयात गर्न नपर्ने केन्द्रले उल्लेख गरेको छ।केन्द्रको अनुसार जिल्लामा गाईमा बढी कृत्रिम गर्भाधान गरिएको छ । एक वर्षमा पाँच हजार ३७ गाई, चार हजार चार सय १७ भैँसी, ७६ बाख्रा, २२ बङ्गुरमा कृत्रिम गर्भाधान गरिएको  छ ।
भेटेरिनरी अस्पताल गर्भाधान केन्द्रबाट दुई हजार ८५, व्यास नगरपालिकाबाट तीन सय ४५, भानु नगरपालिकाबाट ६ सय ८८, भिमाद नगरपालिकाबाट ६ सय ६, शुक्लागण्डकी नगरपालिकाबाट एक हजार नौ सय ६१, बन्दीपुर गाउँपालिकाबाट एक हजार दुई सय २२, आँबुखैरेनी गाउँपालिकाबाट एक हजार तीन सय ४९, म्याग्दे गाउँपालिकाबाट ६सय १९, देवघाट गाउँपालिकाबाट ६सय ६५ र ऋषिङ गाउँपालिकाबाट १२ पशुको कृत्रिम गर्भाधान गरिएको छ । घिरिङ गाउँपालिकामा भने कृत्रिम गर्भाधान केन्द्र छैन ।

Leave a Reply