काठमाडौँ ।
महोत्तरीका उखुखेती गर्ने किसान आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरूको माग छ । महोत्तरीमा उखुखेती गर्ने किसानको सङ्ख्या १५ हजार हाराहारी छ ।यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान प्रतिक्विन्टल ७० रुपैयाँ यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरूले अनुदानको निरन्तरताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । किसानले हिजो गौशाला–१ रामनगरको एभरेष्ट चिनी उद्योग अगाडि प्रदर्शन गरेका छन् ।उखु उत्पादक कृषक महासङ्घका सदस्य महाशङ्कर थिङका अनुसार किसानले मुख्य रूपले उखुखेतीमा सरकारले दिँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने, गएको आर्थिक वर्ष २०८१र८२ को अनुदानबापतको रकम तुरुन्त उपलब्ध गराउनुपर्ने, वर्षेनि उखुको मूल्य निर्धारण गरिनुअघि उखु किसानका प्रतिनिधि, चिनी उद्योग र सरकारबीच सहमति गरिनुपर्ने लगायतका माग राखेका छन् ।
माग सम्बोधन नभए आउँदो भदौ ८ गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने सङ्घले जनाएको छ । महोत्तरीमा गएको आर्थिक वर्ष २०८१र८२ मा उखुबाट किसानले २१ करोड ७२ लाख ९१ हजार रुपैयाँ पाउनुपर्ने छ ।




