छात्रवृत्ति र प्राविधिक शिक्षामा 'काठमाडाैं महानगर' बाट सिकाैँ | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

छात्रवृत्ति र प्राविधिक शिक्षामा ‘काठमाडाैं महानगर’ बाट सिकाैँ

काठमामाडौं महानगरपालिकाले एसइइ उत्तीर्ण गरी कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि लगातार तीन वर्षदेखि कडाइका साथ छात्रवृत्ति कार्यक्रम लागु गरेको छ । जसका कारण दुर्गम क्षेत्रमा सामुदायिक विद्यालय पढेका विद्यार्थीले महानगरका राम्रा कलेजमा पढ्ने अवसर प्राप्त गरेका छन् ।

कक्षा एकदेखि विश्वविद्यालयसम्म अध्ययन गर्ने विद्यार्थीका लागि शिक्षा ऐन र निर्देशिकामा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने उल्लेख छ । तर प्रभावकारीरुपमा लागु भएको छैन । शिक्षा ऐनमा भएको व्यवस्था धेरैतिर भनसुनमा सीमित छ । तर काठमाडौं महानगरले भने शिक्षा ऐनमा र निर्देशिकामा उल्लेख भएको १० प्रतिशत छात्रवृत्ति कडाइका साथ लागु गरेको छ ।

काठमाडौं महानगरबाहेक देशका सात सय ५२ वटा स्थानीय तहमा विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति पाएका छैनन् । खासगरी दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा कक्षा दशसम्म पढेर कक्षा ११ देखि काठमाडौ बसेर पढ्न चाहने गरिब तथा जेहन्दार विद्यार्थीका लागि छात्रवृत्तिले ठूलो अवसर प्रदान गरेको छ ।

घरको आर्थिक अवस्थाले शहरका महँगा विद्यालयमा विज्ञान संकायमा पढाउन नसक्ने अभिभावकका लागि काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति कार्यक्रम लोकप्रिय बनेको छ । महानगरको छात्रवृत्ति कार्यक्रममा भनसुनको कुनै गुनञ्जायस छैन । महानगरको शिक्षा विभागका कर्मचारीले तटस्थ र निष्पक्षरुपमा विद्यार्थीको योग्यता र क्षमताले प्राप्त गरेको अंक र उनीहरुकै प्राथमिकताका आधारमा रोजेको विद्यालयमा पढ्न पाउने व्यवस्था गरेका छन् ।

यस्तै, कार्यक्रम ललितपुर महानगरलगायत उपत्यकाका अरु नगरले पनि कार्यान्वयन गरेको भए,थप विद्यार्थीले उपत्यकामा नि:शुल्क पढ्ने अवसर पाउने थिए । देशका सबै स्थानीय तहले शिक्षा ऐनमा भएको व्यवस्था प्रभावकारीरुपमा कार्यान्वयन गर्ने हो भने हरेक वर्ष एसइइ उत्तीर्ण गरेका करिब चालीस-पचास हजार विद्यार्थीले छात्रवृत्तिमा पढ्ने अवसर पाउछन् । जुन अवसर काठमाडौ महानगरले मात्र दिएको छ । काठमाडाैं महानगरमा कक्षा ११ मा झण्डै १४ हजार विद्यार्थीले यसपटक छात्रवृत्तिको अवसर पाएका छन् ।

छात्रवृत्तिमा अध्ययनका लागि काठमाडौ महानगरको परीक्षा पास भएर सिफारिस भएका विद्यार्थीसँग महानगरभित्रका केही निजी विद्यालयले शुल्क मागेको विषय उठेको छ । महानगरले छात्रवृत्तिमा पढ्न सिफारिस गरेका विद्यार्थीसँग विद्यालयले शुल्क उठाउन खोज्नु गैरकानुनी काम हो । महानगरले शिक्षा ऐन अनुसार नै विद्यार्थीलाई छात्रवृत्तिमा पढाउन सिफारिस गरेको हो ।

छात्रवृत्तिका अतिरिक्त काठमाडौं महानगरले महानगरभित्रका सामुदायिक विद्यालयमा ‘बुक फ्रि फ्राइडे’ लागु गरेर विद्यार्थीलाई सीप सिकाउने काम गरेको छ । यो कार्यक्रमले पनि काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थी पढाइसँगै सीप सिकेर डकर्मी, सिकर्मीका साथै विद्युतीय लाइन जोड्न पनि सिपालु भएका छन् । घरमा विद्युत, जोड्न वाइरिङ गर्ने, पानीको धारा जोड्न प्लमिङको काम पनि सिकेका छन् । यसले विद्यार्थीलाई सानैदेखि रोजगारउन्मुख प्राविधिक शिक्षा र व्यवसायिक तालिममा सहभागी हुने अवसर प्राप्त भएको छ । सातामा एक दिन किताबी ज्ञानभन्दा व्यावहारिक ज्ञान दिने यो कार्यक्रम पनि देशका सबै विद्यालयमा लागु गर्नुपर्ने आवश्यकता देखिएको छ ।

महानगरले बेरोजगार युवायुवतीका लागि सीप सिकेर काम गर्ने अवसर दिन काठमाडौको खुलामञ्चमा सीप मेला नै आयोजना गर्दै आएको छ । सीप मेलामा सम्लग्न धेरै वेरोजगार युवायुवतीले रोजगारीसमेत पाएका छन् । सामुदायिक शिक्षा र स्वास्थ्यमा काठमाडौं महानगरले गरेको सुधारको काम देशका अन्य स्थानीय तहले पनि सञ्चालन गर्न आवश्यक देखिन्छ ।

Leave a Reply