काठमाडाैं । संसदमा दिनदिनै भिजिट भिसाको दुरूपयोग भइरहेको भन्दै छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग उठिरहेको छ । सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा गठन गरेको समितिले छानबिन पनि गरिरहेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट पनि छानबिन भइरहेको छ । तर पनि भिजिट भिसाको दुरूपयोग रोकिएको छैन ।
भिजिट भिसाको आवरणमा नेपालबाट हुने मानव तस्करी अझै रोकिएको छैन । जुलाई महिनामा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश जान खोज्ने एक हजार २ सय ८९ जनालाई फिर्ता पठाइएको तथ्यले मानव तस्करी गर्ने गिरोह अहिले पनि सक्रिय रहेको पुष्टि गर्छ ।
संसदमा दिनदिनै जसो भिजिट भिसाको दुरूपयोग भइरहेको भन्दै छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले पनि दिनमा झन्डै ६ सय नेपाली भिजिट भिसामा विदेश गइरहेका छन् । तर कति घुम्न र कति कामका लागि गए सरकारको तालुकदार निकायले ठम्याउन सकेका छैनन् ।
मानव तस्करले भारतको बाटो हुँदै कुवेत लैजान लागेका ४७ जना नेपाली महिलालाई भारतबाटै फर्काइयो । नक्कली कागजपत्र भेटिएपछि उनीहरूलाई फर्काइएको हो मानव बेचविखन अनुसन्धान ब्यूरोले नक्कली कागजात दिएर पठाउनेहरूको खोजी गरी कारबाही सुरू गरिसकेको छ । कागजपत्र शंकास्पद देखिएकै कारण पछिल्लो एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई हजार दुई सय ८९ जनालाई फर्काइएको हो ।
प्रलोभनमा पारेर भिजिट भिसामा विदेश पठाउने र अवैधरूपमा श्रममा लगाउनेहरुलाई कारबाही गर्न प्रभावकारी कानुन नहुँदा तस्करी भइरहेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार तीन महिनायता भिजिट भिसामा मात्र ५३ हजार पाँच सय ३४ जना नेपाली विदेश गएका छन् । कति फर्किए उतै बसे तथ्यांक छैन ।
यति धेरै नेपालीसँग डलरमा पैसा खर्चसक्ने क्षमता भएको पक्ष पनि गम्भीर नै छ । तर मानव अधिकारको विश्वव्यापी घोषणापत्र, राहदानी ऐन २०७६ ले दिएको सुविधा र अध्यागमन ऐन २०४९ को व्यवस्थाअनुसार भिजिट भिसामा जान रोक्न मिल्दैन । तर सेटिङकै कारण सोझा–साझा नेपालीलाई रोजगारी लोभ देखाएर भिजिट भिसाको दुरूपयोग गरी विदेश पठाउन भने रोकिएको छैन । गएका तीन महिनामा भिजिट भिसामा जानेमध्ये सबैभन्दा धेरै १२ हजारभन्दाबढी यूएई गएका छन् । यस्तै, एक हजार ७ सय ६३ जना ओमान र एक हजार तीन सय २४ जना कतार गएका छन् । विचौलियाले नेपालबाट यूएई ट्रान्जिट बनाएर अवैधरूपमा अन्य देशमा श्रमिक पठाउने गरेका छन् ।
अध्यागमन कार्यालयका अनुसार पछिल्लो ६ महिनामा भिजिट भिसामा दुई लाख ४५ हजार ७ सय ६७ महिला विदेश गएकोमा एक लाख ८९ हजार दुई सय एकजना मात्र फर्किएका छन् । ५६ हजार पाँच सय ६६ जना उतै छन् । त्यसमध्ये कति जना अवैधरूपमा श्रममा संलग्न छन् भन्ने तथ्यांक छैन । एकातिर छानबिन भइरहँदा अर्कातिर भित्रै भित्रै भिजिट भिसामा मानव तस्करीको जाल भने झनझनै फैलिरहेको छ ।





