सांसदहरुको आक्रोश : 'मन्त्री र सरकार जवाफदेही नभए समिति खारेज गरौँ' | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

सांसदहरुको आक्रोश : ‘मन्त्री र सरकार जवाफदेही नभए समिति खारेज गरौँ’

काठमाडाैं । संसदीय समितिमा मन्त्री उपस्थित नभएको भन्दै सांसदहरुले आपत्ति जनाएपछि समितिको बैठक स्थगित रोकिएको छ । आइतबार सिंहदरबारमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बोलाइएको थियो ।

बैठकमा सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूचू रहेको थियो । तर उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह बैठकमा सहभागि नहुने सूचना आएसँगै सांसदहरुले बैठक नबस्न आग्रह गरे ।

समिति सदस्यहरुको आग्रहसँगै समिति सभापति ठाकुर गैरेले समितिको बैठक स्थगित गर्नुभयो । समितिको बैठकमा बोल्दै सभापति गैरेले संसद भवन निर्माण प्रगति र तीन महिना म्याद थपबारे तीन दिन भित्र लिखित जवाफ पठाउन समितिले निर्देशन दिएपनि मन्त्रालयले अटेर गरेको बताउनुभयो । समितिले दिएका निर्देशनमा मन्त्रालय जवाफदेही नबनेको बताउनुभयो।

समितिको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले किन म्याद थपियो भन्नेबारेमा मन्त्रालयले स्पष्ट जवाफ दिनुपर्ने बताउनुभयो । मन्त्री नै उपस्थित नभएपछि बैठक स्थगित गर्नुपर्ने बताउनुभयो । मिनि संसदले सरकारलाई असहज पार्ने नभइ बल पुगोस् भन्ने ध्येय रहेको बताउनुभयो । मन्त्रालयले समिति केही पनि होइन भन्ने सोच्न नहुने बताउनुभयो।

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमलसेनाले मन्त्री समितिले बोलाउँदा बैठकमा उपस्थित हुनैपर्ने बताउनुभयो । उहाँले समितिले दिएको पत्रको जवाफ नपठाउने, मन्त्री बोलाएको बेलामा नआउने भएन समिति खारेज गर्न माग गर्नुभयो ।

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदीय बैठकहरु सरकारको प्रतिनिधि नभइ चल्न नसक्ने धारणा राख्नुभयो । उहाँले मन्त्रीहरुलाई जे गरेपनि सरक्क छोडिदिने परिपाटी राम्रो नहुने बताउनुभयो ।

उहाँले सरकारले समय तोकेरै काम सक्ने भनेर अघि बढिसकेपछि के कारणले काम सकिएन भन्ने जवाफ दिनुपर्ने बताउनुभयो।

 

Leave a Reply