काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ठूलो आयोजनामा लगानी गर्न आग्रह गर्नुभएको छ । आइतबार सामुदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै मन्त्री खड्काले करिव तीन सय संस्था आवद्ध नेपाल विद्युत उपभोक्ता महासंघले सबै संस्थाहरूबाट रकम एकीकृत गरी ठूलो परियोजना सञ्चालन गर्न अग्रसर हुन आग्रह गर्नुभएको हो ।
मन्त्री खड्काले लगभग शत प्रतिशत विद्युत पुगेको भन्दै अबको आवश्यकता गुणस्तरीय सेवा भएको बताउनुभयो । २४ सै घण्टा विद्युत आपूर्ति गर्नुपर्ने दबाब र चाहना रहेको उल्लेख गर्दै हामीलाई आवश्यक पर्ने विद्युत आफै उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिन आग्रह गर्नुभयो । त्यसका लागि ठूलो आयोजनामा लगानी गर्न उहाँले सुझाव पनि दिनुभयो ।
मन्त्री खड्काले देशको आवश्यकता अनुसार महासंघले आफूलाई बदल्नु पर्ने र नयाँ खोजी गर्नुपर्नेमा जोड दिनुभयो । पुरानै कुरामा अल्झिएर नबस्न पनि महासंघसँग उहाँको आग्रह थियो । सबै मिलेर लगानी गर्न सके ठूलो परियोजना सञ्चालन हुने र सरकारको समृद्धिको चाहनामा मद्दत पुग्ने मन्त्री खड्काले बताउनुभयो ।





