काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आवद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नुलाई कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय नरहेको स्पष्ट पार्नुभएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले आफू राजनीतकि व्यक्ति नै भएकाले राजनीतिमा पुनः सक्रिय हुन नौलो कुरा नभएको बताउनुभएकाे हाे।
पूर्वराष्ट्रपति भण्डारीले आफ्नो बाँकी जीवन राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको बताउनुभयो । कुनै पदप्रति लालसा, महत्वाकाङ्क्क्षा र आशक्ति नरहेको पनि स्पष्ट पार्नुभयो ।
आफ्नो उद्देश्य पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकतावद्ध बनाउने र राजनीतिमार्फत देश र जनताको सेवा गर्ने रहेको बताउनुभयो । जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुनेगरी पार्टी सदस्य हुनबाट वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिए पनि वास्तविकतालाई सधैँ छोप्न नसकिने बताउनुभयो ।





