काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताउनुभएको छ । बुधबार कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चुनौती आए भनेर निराश हुनुपर्ने आवश्यकता नरहेको बताउनुभएकाे हाे।
अध्यक्ष नेपालले चुनौती आउँदैमा पलायन नै हुनुपर्ने भन्ने नरहेको बताउनुभयो । उहाँले चुनौतिको सामना गर्दै उद्देश्य अनुसार अघि बढ्नसके सही विचार प्राप्त गर्न सकिने बताउनुभयो । आन्तरिक कुराहरु पार्टीकै बैठकमा गर्नु उचित हुने उहाँको भनाइ छ।
पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ भने, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद गर्नुपर्ने बताउनुभयो । पार्टीलाई अनुशासनमा अघि बढाउनसके त्यसले जनतामा आशा जगाउनसक्ने बताउनुभयो ।
अध्यक्ष नेपालले समाजको परिवर्तन र रुपान्तरण गर्ने जिम्मेवारी अझै आफूहरुको काँधमा रहेको बताउनुभयो । समाजवादको ध्येय र उद्देश्यलाई सफल बनाउने अभिभारा अझै आफूहरुको काँधमा रहेको उहाँकाे भनाइ छ ।





