काठमाडाैं । सात प्रतिशत बालबालिकाको १४ वर्षभित्रै हुन्छ विवाह, पाँच वर्षमुनिका १९ प्रतिशत बालबालिका कुपोषित
नेपालमा बाल विवाहको दर अझै पनि उच्च रहेको सरकारी तथ्यांकले देखिएको छ । राष्ट्रिय बाल अधिकार परिषद्को बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०८१ ले नेपालमा अझैपनि बाल विवाहको दर उच्च रहेको देखाएको हो ।
सोमबार प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार जनसंख्याको आधारमा ५४ हजारभन्दा बढी बालबालिकाले १८ वर्ष भन्दा कम उमेरमै विवाह गर्ने गरेका छन् । यसमध्ये सात प्रतिशत बालबालिका १० देखि १४ वर्षको उमेरमै विवाह गर्ने गरेका छन् भने २२.३ प्रतिशत बालबालिका १५ देखि १७ वर्षको उमेरमा विवाह गर्दछन् ।
सूचना अधिकारी चन्दले समग्रमा बाल विवाहको औसत उमेर १६ वर्ष रहेको बताउनुभयो । उहाँले बालबालिकाको स्वास्थ्यसम्बन्धी तथ्यांक समेत चिन्ताजनक रहेको बताउनुभयो । उहाँले पाँच वर्षमुनिका १९ प्रतिशत बालबालिकाको तौल सामान्यभन्दा कम रहेको बताउनुभयो । उहाँकाअनुसार बाल स्वास्थ्यको अवस्था मधेस प्रदेशमा सबैभन्दा कमजोर रहेको देखाएको छ ।
सूचना अधिकारी चन्दले सरकारले बाल अधिकार संरक्षण र बाल स्वास्थ्यमा सुधार गर्न नीतिगत सुधार गर्न जरुरी रहेको बताउनुभयो ।





