भरपर्दो स्वास्थ्य सेवा पाउन नसक्दा आमनागरिक हैरान छन् । सरकारले नागरिकका लागि स्वास्थ्य बीमा गुणस्तरीय बनाउन प्रयाश गरे पनि अझै भएको छैन । स्वास्थ्य मन्त्रालले नागरिकका लागि एकपछि अर्काे नयाँ योजना त ल्याइरहेको छ तर प्रभावकारी भने बनाउन सकेको छैन ।
आगामी साउनबाट सरकारले आठ प्रकारका गम्भीर रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँसम्मको उपचार सेवा दिने भएको छ । क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका जस्ता गम्भीर प्रकृतिका बिरामीलाई स्वास्थ्य मन्त्रालयले दुई लाखसम्मको उपचार सेवा दिन लागेको हो ।
गम्भीर प्रकारका रोग लागेका बिरामीलाई सरकारले उपलब्ध गराउने उपचार खर्चले गरिब तथा विपन्न वर्गका लागि भने पक्कै पनि राहत मिल्ने छ । स्वास्थ्य बीमामा नागरिकले गुणस्तर सेवा पाउँन नसक्दा आमनागरिकले स्वास्थ्य बीमाप्रति विश्वास गर्न छाेडेका छन् । गुणस्तरीय स्वास्थ्य सेवा पाउँन नसक्दा स्वास्थ्य विमा बोर्डमा बीमा नवीकरण गर्ने नागरिकको संख्या घट्दै गएको छ ।
पछिल्लो समय बीमा नवीकरणभन्दा बीमाबाट अलग हुने नागरिहकको संख्या बढ्दो छ । करिब ९० लाख आबद्ध रहेको स्वास्थ्य बीमामा २२ प्रतिशत नागरिकले सक्रिय रुपमा बीमा नवीकरण गरेका छन् भने २२ प्रतिशत नागरिक बीमाबाट अलग भएका छन् । यसबाट नागरिकप्रति सरकारले विश्वासिलो र भरपर्दो स्वास्थ्य सेवा सञ्चालन गर्न नसकेको देखिन्छ ।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक अस्पतालको २४ करोड रुपैयाँ भूक्तानी गर्न नसक्दा अस्पतालहरुमा समेत समस्या देखिएको छ । नगरिकलाई सहज र शुलभ स्वास्थ्य अपचारका लागि सञ्चालन भएको स्वास्थ्य बीमा बोर्डप्रति नागरिकको भरोसा गुम्न नदिनु सरकारको प्रमुख दायित्वसँगै कर्तव्य पनि हो । संविधानको भाग तीनको धारा ३५ मा आमनागरिकलाई प्राथमिक स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउने उल्लेख छ । अहिले शुल्क तिरेर पनि भरपर्दो स्वास्थ्य सेवा नपाइने अवस्थाको सरकारले जतिसक्दो चाँडो अन्त्य गर्न सक्नुपर्छ ।
अहिलेसम्म सात सय ४९ वटा स्थानीय तह स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । सरकारीदेखि निजी र सामुदायिक अस्पतलाहरु स्वास्थ्य बीमा बोर्डका सेवा प्रदायक संस्था हुन् । बीमा बोर्डले ती सेवा प्रदायक सस्थाहरुको भूक्तानी गर्न नसक्दा अस्पतालहरु समस्यामा परेका हुन् । जसका कारण स्वास्थ्य बीमाप्रति नागरिक सन्तुष्ट छैनन् । बीमा नवीकरणसमेत गर्न छाेडेका छन् । हुनेले नहुनेलाई र नचाँहिनेले चाँहिनेलाई सहयोग गर्ने स्वास्थ्य बीमाको मूल उद्देश्य हो ।
अहिले देशभर चार सय ८४ वटा अस्पताल स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध रहेका छन् । तर अस्पतालको गुनासो बिरामीको जस्तै छ । उपचार गराए पनि बीमा बोर्डले भुक्तानी नदिँदा अस्पताल सञ्चालन गर्न र बिरामीलाई सेवा दिनै समस्या भएको अस्पताल प्रशासनको तर्क छ । स्वास्थ्य बीमामा आबद्ध भएपछि नागरिकले ओपीडीदेखि शल्यक्रियासम्म ११ सय ३५ प्रकारका औषधि पाउनुपर्ने व्यवस्था छ । तर अस्पतालहरुमै सहज उपचार सेवाको अभाव अहिलेको एक प्रमुख समस्या हो । यसलाई जतिसक्दो चाँडो सरकारले सहजीकरण गर्नु आवश्यक छ ।





