काठमाडाैं । साउन १ गतेदेखि स्वास्थ्य बीमा बोर्डले बीमा गरेका नागरिकका लागि प्रथम सेवा विन्दुको व्यवस्था शुरु गर्ने भएको छ । अहिलेसम्म बीमितले बीमा गराउँदा नै प्रथम सेवा बिन्दु तोक्नुपर्ने र त्यहाँ मात्र बीमाको सेवा लिन पाउने वा रेफर ल्याउनुपर्ने प्रावधान छ । तर जहाँ बीमा गराए पनि अब देशभरका जुनसुकै प्रथम सेवा बिन्दुमा सेवा वा आवश्यक परे रेफर लिन मिल्ने गरी कार्यविधि लागू हुने भएको हो । यसबाट बिमितहरुलाई सेवा लिन सहज हुने बोर्डको विश्वास छ ।
नहुनेलाई हुनेले र नचाहिनेलाई चाहिनेले सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको स्वास्थ्य बीमा बोर्ड नयाँ योजना प्रथम सेवा विन्दु कार्यक्रम सञ्चालन गर्ने तयारीमा छ । नयाँ आर्थिक वर्ष लागेसँगै साउन १ गतेदेखि सरकारी स्वामित्वका स्वास्थ्य संस्थाहरू मात्र स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु रहने छन् ।
स्वास्थ्य बीमा ऐन २०७४ को दोस्रो संशोधन तथा नियमावली २०७५ को पहिलो संशोधन गरी प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरिएको हो । विगतमा केही निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरू पनि प्रथम सेवा बिन्दु थिए ।
यसैगरी, विशेषज्ञ सेवा दिने अस्पतालहरू पनि प्रथम सेवा बिन्दुका रूपमा नरहने बोर्डले जनाएको छ । अब बीमा गरेकाहरूले शुरुमा सरकारी संस्थामा गएपछि मात्र उसले रेफर गरेको आधारमा थप उपचारका लागि विशेषज्ञ वा अन्य बीमा उपलब्ध भएका निजी वा सामुदायिक स्वास्थ्य संस्था जान पाउनेछन् ।
योसँगै स्वास्थ्य बीमा गरेकाहरुले शुरुमा रोजेको सेवा प्रदायक संस्थामा गएर मात्रै उपचार गर्नुपर्ने व्यवस्था अब हट्ने छ । रोजेको संस्थामा सेवाहरु अपुग भएको खण्डमा रिफेर लिएर त्योभन्दा ठुलो अस्पतालमा जान पाउने व्यवस्थालाइ थप सहज बनाइएको छ । साउन १ गतेदेखि आफ्नै सेवा बिन्दुमा तोकेको संस्थामा नभएर नजिकको अस्पतालमा गएर सेवा लिन पाउँने छन् । यसले गर्दा रिफर सेन्टर पनि नजिक पर्ने र बीमा गरेका नागरिकलाई सहज हुने बोर्डको विश्वास छ ।
स्वास्थ्य बीमा बोर्डमा अहिले समस्या चाङ छन् । बीमा गरेकाले सहज सेवा पाएका छैनन् । सेवा प्रदायक संस्थाहरुको समस्या उस्तै छ । पछिल्लो समय स्वास्थ्य बीमा नै संकटमा छ । यस्तो अवस्थामा नयाँ योजनाको प्रभावकारितामा आशंका गर्न सकिने आधारहरु भने छन् । नयाँ योजनाभन्दा पनि अहिलेका समस्या समाधान गरी सहज सेवा दिने स्वास्थ्य बीमाको दायित्व पनि हो । कार्यक्रम मात्रै ल्याउने तर कार्यान्यन फितलो भयाे भने त्यसको कुनै औचित्य रहने देखिदैन । –सुर्जन बाेहरा, माउण्टेन टेलिभिजन एचडी





