काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलको टोलीबीच भेटवार्ता भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा लगानी सिर्जना गरी रोजगारी सिर्जना गर्नेबारे छलफल भएको हो ।
भेटमा सहभागीहरुले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका छन् । प्रतिनिधि मण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राह लगायत सहभागी हुनुहुन्थ्यो ।
भेटपछि कुराकानी गर्दै मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजाले नेपालमा बेरोगारी दर उच्च रहेको बताउँदै सम्भावना धेरै भएकाले लगानी विस्तार गरेर रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले बताएको छ । सचिवालयकाअनुसार लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गर्नुभयो ।
‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरु लगानीमैत्री छन् । लगानीका क्षेत्रहरु पहिचान राम्रो तयारी गरी अघि बढनुहोस् । सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,’ अर्थमन्त्री पौडेलको भनाइ उदृढ गर्दै सचिवालयले भन्यो ।
मलेसिया–नेपाल व्यापार परिषद् (एमएनबीसी) को टोलीले बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वकर्ताहरुसँग समेत छलफल गरेको थियो । सो क्रममा–मलेसिया व्यापारिक सम्बन्ध विस्तार तथा लगानी र आसपी सहकार्यका विषयमा छलफल भएको थियो ।





