काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पूर्वपक्षका लागि थुनामा पठाउन माग गर्नुभएको छ । वरिष्ठ अधिवक्ता सुशील पन्तले नेपाल विरुद्धको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट बहस गर्दै उहाँलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्नुभएको हो।
आफ्नो बहसमा पन्तले माधव नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषदले पतञ्जली योगपिठलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्नका लागि दिएको स्वीकृती नीतिगत निर्णय मान्न नसकिने दाबी गर्नुभयो ।
तत्कालीन मालपोत विभागका महानिर्देशकले यो गर्न मिल्दैन भन्दाभन्दै पनि उहाँलाई त्यहाँबाट सरुवा गरेर अर्को महानिर्देशक ल्याइ आफ्नो स्वार्थअनुकुल काम गराएको आरोप पनि पन्तले लगाउनुभएको छ ।
विशेष अदालतमा अहिले दुबै तर्फका कानून व्यवसायीको भिडभाड छ । माधव नेपालको पक्षबाट बहसका लागि १२० जना वकिलले वकालतनामा भराएका स्रोतका भनाइ छ ।
एकीकृत समाजवादीका अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री नेपाल पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाका क्रममा अदालतमा आफै हाजिर हुन पुग्नुभएको हो।
गत जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । नेपालको हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी भएको छ ।





