सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक बनाइसकेपछि पनि दर्ता नहुने सामाजिक सञ्जाललाई व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
प्रतिनिधि सभाको मंलगवारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक बनाइसकेपछि पनि दर्ता नहुने सामाजिक सञ्जाललाई व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको हो । सञ्चार मन्त्रालयले तीन पटकसम्म दर्ताका लागि आह्वान गर्दा समेत दर्ता नभएको भन्दै सामाजिक सञ्जाल नियमन गर्ने विधेयक बनाइरहेको उहाँले जानकारी गराउनु भयो । उहाँले विभिन्न माध्यमबाट सम्पर्क गरेर उनीहरुसँग छलफल गर्दा सोसल मिडिया नियमन गर्ने विधेयक पनि नभएको देश भनेर हेपेर बोल्ने गरेको गुनासो गर्नुभयो । सबै सामाजिक सञ्जाल दर्ता हुनुपर्ने र नेपालको कानून मान्नुपर्ने भन्दै विधेयक पास भएसँगै यसको समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
विधेयक पास नहुन्जेल निर्देशिकाको आधारमा सञ्चालन गर्ने त्यसको आधारमा पनि आएनन् भने नेपालको कानून नमान्नेहरुलाई सधैँ मान दिएर राख्न नसकिने बताउनु भयो । ०००





