काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानविन हुनुपर्ने बताउनुभएको छ । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले आफूहरुले जनताको आावज उठाउँदा पनि सरकार बेखबर रहेकोप्रति चिन्ता व्यक्त गर्नुभएकाे हाे ।
सांसद कार्कीले रुस, युक्रेन सेनामा रहेका नेपालीहरु पनि भिजिट भिसाबाटै त्यहाँ पुगेको बताउनुभयो । गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा जोडिनुभएको आरोप लगाउँदै आफूहरुले राजीनामा माग गरेको बताउनुभयो । गठबन्धन दलसँग पनि सुशासन कायम गर्ने भए गृहमन्त्रीलाई बर्खास्ती गर्नुपर्ने माग गर्नुभयो ।
सांसद कार्कीले एक करोड दैनिक आम्दानीको हिस्सा गठबन्धन सरकारका टाउकेहरुले पनि खाएका त छैनन् ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले नेपाली जनताको लागि आवाज उठाएका छौँ । रसियामा गएर काल कुरेर बसेका दाजुभाईको लागि हामीले आवाज उठाएका छाैँ । यो जाने बाटो भिजिट भिसाको हो । हाम्रा दाजुभाइ दिदीबहिनीहरु बेचिएका छन् । उनीहरुमार्फत् लाखौँ रुपैयाँ असुल गर्ने जस्तो निर्लज्जता केही पनि छैन । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानविन हुनुपर्छ । गृहमन्त्रीज्यु पनि अहिले त्यो दायरामा आउनुभएकाले उहाँको राजीनामा माग गरेका छौँ । हाम्रो माग जायज छ ।’
सांसद कार्कीले पैसा कमाउन देश पनि बेच्ने हो ? भन्दै प्रश्न गर्नुभयो । अविलम्व उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने बताउनुभयो । गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।




