२०८२,३,२
द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयअनुसार इजरायलमा ५ हजार ५ सय र इरानमा करिब १२ जना नेपाली छन् । इजरायलमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म एक जना नेपालीले मात्रै उद्धारको लागि अनुरोध गरेका छन्, अरुले आफूहरु सुरक्षित भएकाले फर्काउन नपर्ने बताएका छन् ।
दूतावासले हिजो सूचना निकालेर त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ । सुरक्षित आश्रयस्थलको सुविधा भएको ठाउँको आसपासमै रहन दूतावासले भनेको छ । परराष्ट्र मन्त्रालयले इजरायलमा कुनै अप्ठ्यारोमा परेमा तेल अभिभमा रहेको नेपाली दूतावासमा तथा इरानमा कुनै अप्ठ्यारो परेमा कतारको दोहामा रहेको नेपाली नियोगमा सम्पर्क गर्न आग्रह गरेको छ । इरानमा अहिले नेपालको दूतावास छैन । त्यहाँ रहेका नेपालीहरुले कतारमा रहेको राजदूतावासमार्फत समन्वय गर्नुपर्ने हुन्छ । यस्तै पराराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न दूतावासहरुलाई निर्देशन दिएको छ । परराष्ट्रमन्त्री आरजू देउवा राणाले इजरायलको तेल अभिभ र कतारको दोहामा रहेको नेपाली दूतावासका राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी ती देशमा रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।




