२०८१,११,१७
त्रिभुवन विश्वविद्यालयका उपुलपति केशरजंग बरालले राजीनामा दएिका छन्। चारबर्से कार्यकालका लागि नियुक्त भएका उपकुलपति बरालले १३ महिनामै राजीनामा दिएका हुन्। उपकुलपति छनोट तथा सिफारिस समितिले बुझाएको तीन जनाको नाममध्येबाट दोस्रो नम्बरमा रहेका बराललाई तत्कालीन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले २०८० फागुन १० गते उपकुलपतिमा नियुक्त गरेका थिए।
त्रिवि स्रोतका अनुसार बरालले प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिलाई सम्बोधन गरेर राजीनामापत्र बुझाएका हुन्। बरालले राजीनामा दिएको विषय विश्वविद्यालयकै एक जना पदाधिकारीसँग व्यक्त गरेर दुई वटै मोबाइल फोन अफ गरेर बसेका छन्। उपकुलपतिले राजीनामा दिनुपर्नाको मुख्य कारण अस्थायी तथा करार का शिक्षक र कर्मचारीको समस्या मुख्य रहेको त्रिवि स्रोतले जनाएको छ। पछिल्लो समय त्रिविमा अस्थायी तथा करारका शिक्षक कर्मचारी व्यवस्थापनको विषय पेचिलो बन्दै गएको थियो। अस्थायी तथा करारका कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउनुपर्ने माग गर्दै आएका थिए।
शिक्षक कर्मचारीले निरन्तर आन्दोलन गरेपछि यसअघिका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको पालामा बसेका विश्वविद्यालय सभाले आन्तरिक प्रतिस्पर्धा गराउनका लागि २०८१ चैत मसान्तभित्रमा विज्ञापन आह्वान गर्ने निर्णय गरेको थियो।