२०८१,१२,१०
सामान्यतया दलहरूको पार्टी बैठकमा अन्य दलका नेतालाई प्रवेश दिइँदैन तर नागरिक उन्मुक्ति पार्टी नाउपा शनिबार सम्पन्न केन्द्रीय समिति बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सिके चन्द्रकान्त राउत र पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी नेसपाकी उपाध्यक्ष मानुषी यमी भट्टराई सहभागी भएका छन ।
नाउपासँगै एकता हुन लागेकाले जनमत अध्यक्ष राउत पुग्नुलाई सामान्य मानिए पनि नेसपा नेतृ भट्टराईसमेत सहभागी भएपछि ‘जनमत र नाउपाबीचको एकतामा नेसपा मिसिन लागेको हो कि’ भन्ने आशंका उत्पन्न हुनु स्वाभाविक थियो। त्यसमा आशंका गर्ने अर्को ठाउँ नेसपाले नै गत महाधिवेशनमार्फत दिएको थियो। माघ अन्तिम साता भएको महाधिवेशनमा उसले अहिलेका प्रमुख तथा पुराना भनिएका दलहरूलाई ‘बाइकट’ गरेर नयाँ भनिएका रास्वपा, जनमत, नाउपा र विवेकशील साझा पार्टीलगायतलाई मात्रै निम्तो दिएको थियो।