२५ करोड रुपैयाँ बरामद भएको घटनाको विस्तृत अनुसन्धान गर्न सांसदहरूको माग | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

२५ करोड रुपैयाँ बरामद भएको घटनाको विस्तृत अनुसन्धान गर्न सांसदहरूको माग

२०८१,१२,६

सांसदहरूले २५ करोड रुपैयाँभन्दा धेरै विदेशी मुद्रा बरामद भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुन तस्करीजस्ता घटनामा चालक र भरियालाई समात्ने र मुख्य व्यक्तिसम्म नपुग्ने गरिएको भन्दै आपत्ति जनाउनुभयो । सांसद खतिवडाले यसपालि त्यस्तो प्रवृति नदोहोर्‍याउन सरकारलाई सचेत गराउनुभयो ।

त्यस्तै नेकपा एमाले सांसद रघुजी पन्तले पनि सुन तस्करीको घटनामा पञ्चायतकालदेखि मुख्य व्यक्ति पक्राउ नपरेको भन्दै सुन तस्करी किन र कसरी भइरहेको छ भन्ने अनुसन्धान गर्नुपर्ने बताउनुभयो । यस्ता घटनामा भरिया र चालक मात्र नभई पर्दा पछाडिका मानिस पक्रनुपर्ने उहाँको भनाइ छ ।यस्तै नेकपा माओवादी केन्द्रले रकम बरामद भएको घटनाको छानबिनका लागि विशेष समिति बनाउन माग गरेको छ । माओवादीका सांसद माधव सापकोटाले घटनाको छानबिनका लागि समिति बनाउन माग गर्नुभएको छ ।

सोमवार राति सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामा २५ करोड रुपैयाँभन्दा धेरै विदेशी मुद्रासहित काठमाण्डौबाट पक्राउ परेका थिए । लामाले चलाएको ट्रकमा रकम भेटिएको हो । उनी पाँच वर्षअघि काठमाण्डौमा सुन बोक्ने भरियाका रूपमा काम गर्ने गरेको खुलेको छ । प्रहरीले यस पटक पनि सुन खरिदका लागि रकम लिएर रसुवाको केरुङ नाकातर्फ जान लागेको निष्कर्ष निकालेको छ ।

Leave a Reply