२०८१,१२,६
सांसदहरूले २५ करोड रुपैयाँभन्दा धेरै विदेशी मुद्रा बरामद भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुन तस्करीजस्ता घटनामा चालक र भरियालाई समात्ने र मुख्य व्यक्तिसम्म नपुग्ने गरिएको भन्दै आपत्ति जनाउनुभयो । सांसद खतिवडाले यसपालि त्यस्तो प्रवृति नदोहोर्याउन सरकारलाई सचेत गराउनुभयो ।
त्यस्तै नेकपा एमाले सांसद रघुजी पन्तले पनि सुन तस्करीको घटनामा पञ्चायतकालदेखि मुख्य व्यक्ति पक्राउ नपरेको भन्दै सुन तस्करी किन र कसरी भइरहेको छ भन्ने अनुसन्धान गर्नुपर्ने बताउनुभयो । यस्ता घटनामा भरिया र चालक मात्र नभई पर्दा पछाडिका मानिस पक्रनुपर्ने उहाँको भनाइ छ ।यस्तै नेकपा माओवादी केन्द्रले रकम बरामद भएको घटनाको छानबिनका लागि विशेष समिति बनाउन माग गरेको छ । माओवादीका सांसद माधव सापकोटाले घटनाको छानबिनका लागि समिति बनाउन माग गर्नुभएको छ ।
सोमवार राति सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामा २५ करोड रुपैयाँभन्दा धेरै विदेशी मुद्रासहित काठमाण्डौबाट पक्राउ परेका थिए । लामाले चलाएको ट्रकमा रकम भेटिएको हो । उनी पाँच वर्षअघि काठमाण्डौमा सुन बोक्ने भरियाका रूपमा काम गर्ने गरेको खुलेको छ । प्रहरीले यस पटक पनि सुन खरिदका लागि रकम लिएर रसुवाको केरुङ नाकातर्फ जान लागेको निष्कर्ष निकालेको छ ।