अर्थ ⁄ वाणिज्य

अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्यायौँ, अर्थमन्त्री

२०८१,१०,१३

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको बताएका छन्।आइतबार विश्व भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिलेको सरकार सरकारहरुको सूचीमा अर्को एक थान सरकार थप्नका लागि नबनेको बताए। उनले सरकार विशेष परिस्थितिमा बनेको उल्लेख गर्दै सरकारले आफ्नो अभिभारा पूरा गर्ने बताए। उनले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशहरुलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरु सरकारले आगामी दिनमा पनि अघि बढाउने बताए।

उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरु अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने बताए। निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको बताए।उपप्रधानमन्त्री पौडेलले भने, ‘म भन्न चाहन्छु, यो हामीले अहिले चालेको कदमहरु अन्तिम कदम होइनन्। अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नका निम्ति, अर्थतन्त्रलाई चलायमान बनाउनका निम्ति, उत्पादन, उत्पादकत्व वृद्धि गर्नका निम्ति, जिडिपी वृद्धि गर्नका निम्ति हामीले चालेको यो अन्तिम कदम होइन। सरकारले चालेको यो अन्तिम कदम होइन। यो एउटा कदम हो। अध्यादेशका माध्यमबाट कानून संशोधनको क्षेत्रमा यो कदमहरु चाल्यौँ। यस्ता कदमहरु हामी अनेक पटक चालिरहन्छौँ। निराशालाई आशामा बदल्नुपर्छ। अविश्वासलाई विश्वासमा बदल्नुपर्छ। शिथिलतालाई क्रियाशिलता र गतिशिलतामा बदल्नुपर्छ। हामीले नै अर्थतन्त्र चलायमान र गतिशिल बनाउने हो। हरेक नागरिकलाई सुखी र समृद्ध जीवनको प्रत्याभुति गर्ने हो भन्ने अठोटका साथमा सरकार क्रियाशिल छ।’

उपप्रधानमन्त्री पौडेलले राजस्व संकलनमा सहयोगी भूमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह गरे। राजश्व चुहावट, अनियमितताका प्रवृत्तिहरुलाई निरुत्साहीत गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता संगठनले आफ्ना सदस्यहरुलाई निर्देशित गर्न आग्रह गरे।

Related Post
Share

This website uses cookies.