पौष १२ शुक्रबार
प्रहरीले स्रोत नखुलेको ९२ लाख नगदसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १ का रवि धमला, संखुवासभाको पाँचखपन नगरपालिका ७ का सन्तोष विक र रसुवाको उत्तरगया गाउँपालिका( २ का जितबहादुर तामाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
पक्राउ परेका तीनैजनालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए । आगो ताप्ने हिटरको खोलभित्र पैसाका बिटा हालेर प्याक गरी बाटोमा हिँड्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार पक्राउ परेका धमलाले जोरपाटी र रसुवामा दुइटा र केरुङमा १ वटा सुन पसल चलाउने बयान दिएका छन्।
उनीहरूले अवैध रूपमा सुनको तस्करी र कारोबार गर्ने गरेको गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो। यही सूचना पछ्याउँदै जादा उनीहरू तारकेश्वर लोलाङबाट पक्राउ परेका हुन्।