असार २, २०८१ प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहने जनाइएको छ ।
आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
बैठकमा सांसद रामहरि खतिवडाले विनियोजन विधेयक २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा रहेको छ ।
त्यस्तै, सांसदहरू अमरेशकुमार सिंह, प्रेम सुवाल, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङदेन, रोशन कार्की, श्यामकुमार घिमिरेले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।