काठमाडौं,२९ चैत्र । इस्लाम धर्मावलम्बीले आज इद मनाउँदै छन् । एक महिना लामो रमादान पर्व रोजा पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो । इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।
यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ । खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
खुशीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ । रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि राम्रो होस् भन्ने दृष्टिकोणबाट अल्लाहले विशेष व्यवस्था गरेको मानिन्छ । इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।