चितवन, १३ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनको सरकार बनेपछि मधेसी दलहरु पनि सरकारमा सहभागी हुने दाबी गरेका छन् । मधेसी दलले उठाउँदै आएको संविधान संसोधनको मागबारे पनि समझदारी बन्न सक्ने संभावना रहेको उनले खुलासा गरेका छन् ।
शनिबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले काम चलाउ सरकारले गरेका दिर्घकालिन असर पार्ने निर्णयहरु नयाँ सरकारले उल्टाउने चेतावनी दिए ।
वर्तमान सरकारले गरेका निर्णयहरु औचित्यका आधारमा हेरफेर हुने उनले बताए । जनमत अनुसारको सरकार बनेपछि गर्नुपर्ने कामहरु पनि कामचलाउ सरकारले गरेकाले कामचलाउको सिमा बाहिर गएर भएका निर्णयहरु उल्टाउने उनको भनाई थियो । उनले गम्भीर प्रकृतिका निर्णयले नेपाली कांग्रेसको लोकतान्त्रिक चरित्र माथि नै प्रश्न उठाएको टिप्पणी गरे ।
चितवनको बाँदरमुढे घटनामा ज्यान गुमाएकाहरुलाई शहीद घोषणा गर्ने सरकारको निर्णयका बारेमा संचारकर्मीको जिज्ञासामा अध्यक्ष दाहालले विमति नै नभएपनि जसको नेतृत्व उसैको खुसीको आधारमा शहीद घोषणा गर्ने परिपाटी राम्रो नभएको प्रतिक्रिया दिए । अध्यक्ष प्रचण्डले सरकार गठन अघि नै पार्टी एकता गर्नुपर्छ भन्नेमा आफु रहेको बताए ।