काठमाडौं, १२ माघ । ६६ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा सरकारले भन्सारसम्बन्धी आफ्नो कार्य सम्पादनलाई अझ प्रभावकारी र उत्कृष्ट बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।
काठमाडौँमा भन्सार विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सार प्रशासनलाई यथार्थपरक राजस्व संकलन गर्न निर्देशन दिएका छन् । कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारीले भन्सार प्रशासनले पूर्वाधार विकासको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए । उनले भन्सार महशुल बस्तुको मूल्यमा आधारित हुने भएकाले त्यसमा शंका नगर्न पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे ।
राजस्व सचिव शिशिरकुमार ढुंगानाले व्यवासायिक वातावरण निर्माण गर्न भन्सार प्रशासनलाई निर्देशन दिए । भन्सार विभागमा महानिर्देशक जगदीश रेग्मीले व्यवसायिक वातावरण निर्माण हुने गरी भन्सार प्रशासनमा सुधार ल्याउन आफूहरु केन्द्रित भएको बताए । कार्यक्रममा भन्सारमा उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो ।