काठमाडौं,१० फागुन । नेकपा(माओवादी केन्द्र)की सांसद नारायणी शर्माले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ढिलासुस्ती गर्नु नहुने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद शर्माले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ढिलासुस्ती गर्नु नहुने बताउनुभएको हो ।
उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन आनाकानी गर्दै जाने हो भने अन्तर्राष्ट्रिय रुपमा नेपालमाथि प्रश्न उठ्न सक्ने बताउनु भयो । उहाँले यो कामलाई कुनै विवादको रुपमा नलिइ छिटो टुंग्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले शान्ति प्रक्रियाको काम सम्पन्न गर्न सरकारले पहलकदमी लिनुपर्ने र सदन पनि यसप्रति गम्भिर हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘अब पनि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ढिलासुस्ती गर्दै जाने हो भने, पछाडी पार्दै जाने हो भने अन्तर्राष्ट्रिय रुपमा पनि नेपालमाथि प्रश्न नउठ्ला भन्न सकिँदैन । त्यसकारण यसलाई सामान्य रुपमा नलिएर, विवादको कुरामा नलिएर, छिटोभन्दा छिटो टुंग्याउनको निम्ति सरकारले पहलकदमी अगाडी बढाओस् । र सदनले यो प्रति गम्भिर हुन जरुरी छ । सरकारको कहाँ ध्यान जानु जरुरी छ भने, भुमि ऐन, गुठी ऐन, वन ऐन अत्यन्त आवश्यक छ । र जरुरी छ । यसलाई ढिलासुस्ति र पछि पार्ने होइन जतिसक्दो छिटो सरकारले त्यो ऐन ल्याओस् । त्यसमा छलफल गरेर सुकुम्वासी, भूमिहिनहरुको समस्याको अन्त्य सरकारले गरिदिनु जरुरी छ ।’
उहाँले सरकारले भूमि ऐन, गुठी ऐन र वन ऐन जस्तो महत्वपूर्ण ऐनहरुलाई पनि छिटोभन्दा छिटो ल्याएर सुकुम्वासी र भूमिहिनहरुको समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।