काठमाडौं,७ फागुन । आज फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरेर मनाइदै छ । सरकारी निकाय र विभिन्न संघसंगठनले फरकफरक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।
२००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा शहीदको बलिदानबाट स्थापित गरेको आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।
फागुन २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवस तीन दिन मनाउने निर्णय गरिसकेको छ । यस्तै सबै जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, जिल्ला स्तरमा फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा उपयुक्त हुने शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने सरकारको निर्णय छ ।




