काठमाडौं,२५ माघ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभा सदस्य पद अपमान जस्तो लाग्न थालेको टिप्पणी गर्नुभएको छ । बुधवार राष्ट्रिय सभाको बैठकमा गौतमले आफूलाई अपमानजनक पदबाट कहिलेदेखि मुक्ति हुन पाइएला भन्ने लागेको टिप्पणी गर्नुभएको हो । उहाँले आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रश्तुत गर्न नसकेको गुनासो गर्नु भयो ।
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालमा प्रधानमन्त्री र मन्त्री कति पटक हुने भन्नेकुरा निर्धारण हुन जरुरी रहेको औल्याउनु भयो । उहाँले कति पटक सांसद हुने, कति पटक मन्त्री हुने र कति पटक प्रधानमन्त्री भन्नेकुरा निर्धारण हुनु पर्नैमा जोड दिनु भयो ।
बैठकमा राष्ट्रिय सभाकी सदस्य कमला पन्तले संघीय संसदको हिउँदे अधिवेशनमा बिजनेसको कमी हुन नदिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले संसद बिजनेसबिहीन भएर बस्नुपर्ने विगतको स्थिति दोहोरिन नहुनेतर्फ सरकारलार्य सचेत गराउनु भयो ।
राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले रुस र युक्रेन युद्धमा फसेका नेपालीहरुको अभिभावकत्व लिन नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । नैरश्यताले यो देशमा केही हुँदैन भनेर मर्न तयार भई युक्रेन र रसियाका सेनामा भर्ती भएका नेपालीको तथ्यांकसमेत सरकारसँग नहुनु लाजमर्दो भएको उहाँको भनाइ छ ।
राष्ट्रिय सभाबाट बुधबार राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० सर्वसम्मतिले स्वीकृत भएको छ ।