काठमाडौं,१० माघ । गृह मन्त्रालयले संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानीको विवरण पठाएको छ । पाण्डेयविरुद्ध परेको उजुरीका आधारमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले मागेअनुसार गृह मन्त्रालयले नागरिकता र राहदानीको विवरण उपलब्ध गराएको हो ।
गृह मन्त्रालयको विवरणमा पाण्डेयले दुई नागरिकता र दुई राहदानी बनाएको पाइएको छ । राहदानी र नागरिकताका विषयमा विस्तृत जानकारी भने समितिबाट नै सार्वजनिक हुने छ । समितिमा छलफलका लागि मात्र गृहबाट प्राप्त जानकारी खोलिने बताइएको छ । कोसी प्रदेशमा रहेका समिति सभापति रामहरी खतिवडो फर्किएपछि समितिको बैठक बोलाउने तयारी छ ।
पाण्डेयले ०४६ सालमा बनाएको नागरिकतामा ०२६ साल जन्म मिति भएकोमा ०६६ सालमा ०३२ साल जन्ममिति उल्लेख गर्दै ६ वर्ष उमेर घटाएर नागरिकता बनाएको विवरण सार्वजनिक भएपछि गृहमन्त्रालयले छानबीन गरेको हो । संसदको महासचिवमा नियुक्तीका लागि सभामुख देवराज घिमिरेले गरेको शिफारिस राष्ट्रपति कार्यालयमा अड्कीएको छ ।