काठमाडौं, २४ पुस ||
संकटा क्लवले जारी एन्फा यु–१६ युथ लिग फुटबलमा मंगलवार विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफको पोस्टमा सात गोल प्रहार गरेको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्समा मंगलवार संकटाले एपिएफ माथि ७–१ को जित निकालेको हो । कृष्णबहादुर आलेको ह्याट्रिकमा संकटाले विभागीय टोलीमाथि सहज जित निकाल्न सफल भयो । जितसँगै संकटा ९ खेलबाट १९ अंक बटुल्दै शिर्ष स्थानमा उक्लिएको छ । संकटाभन्दा एक खेल कम खेलेको मच्छिन्द्र क्लव १७ अंकसहित दोस्रो स्थानमा छ । खेलको ११ औं मिनेटमा कृष्णबहादुरकै गोलबाट संकटाले अग्रता लिएको थियो । त्यसपछि २६ औं मिनेटमा स्वयमभक्त श्रेष्ठ, ३६ औं मिनेटमा दिलन लिम्बू र पहिलो हाफको थप समयमा कृष्णबहादुरले दोस्रो गोल गरे । ५३ औं मिनेटमा सबिनकुमार लुंगेली मगरले गोल गर्दै संकटाको ५–० को अग्रता दिलाए । तीन मिनेटपछि नै एपिएफले एक गोल फर्कायो । तर, त्यसपछि थप दुई गोल व्यहोर्दै एपिएफले फराकिलो हार व्यहो¥यो । संकटाका लागि छैटौं गोल अरुण श्रेष्ठले ८१ औं मिनेटमा गरे । कृष्णबहादुरले इन्जुरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । संकटाले जारी लिगमा छैटौं जित निकाल्यो । आठौं खेलमा चौथो हार बेहोरेको एपिएफ ११ अंकसहित पाँचौं स्थानमा छ ।
एपिएफको पोस्टमा संकटाको सात गोल
ताजा समाचार
भारतीय सेनाध्यक्ष द्विवेदी आज आउँदै
१ दिन अघि