काठमाडौं,६ पुस । कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन–१’ बढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३०० जनामा संक्रमण पुष्टि भएर तीन जनाको मृत्यु भएको जेएन–१ नामक नयाँ भेरिएन्ट चीन, अमेरिका, बेलायत लगायतका देशमा पनि पुष्टि भएपछि सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले सुझाव दिएका हुन् ।
कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने स्वास्थ्य विदहरुको आकलन छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार जेएन–१ भेरियन्ट पहिलो पटक सेप्टेम्बर अमेरिकामा पत्ता लागेको थियो । यो ओमिक्रोन भेरिएन्टको ‘सब भेरिएन्ट’ हो । विश्व स्वास्थ्य संगठनले यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भनेको छ र, विश्वव्यापी रुपमा फैलन सक्ने बताएको छ । कडा खालको रुवाखोकी र ज्वरोका बिरामी बढ्दै गएकाले जेएन–१ नेपालमा फैलिएको हुनसक्ने आशंका गरिएको छ ।
संक्रमण धेरै फैलिएपनि स्वास्थ्यमा गम्भीर खतरा कम हुने विज्ञहरुको विश्लेषण छ खोपको कभरेज राम्रो भएकाले नयाँ भेरियन्टसँग अत्तिनु नपर्ने तर वृद्धवृद्धालाई वा अरु स्वास्थ्य समस्या रहेकालाई गम्भीर बिरामी बनाउनसक्ने जोखिम रहेको जनस्वास्थ्यविदहरुको भनाइ छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेको छ । भारतमा संक्रमण बढ्दै गएको अवस्थामा त्यसको असर चाँडै देखिने भएको मन्त्रालयले आवश्यक तयारी गर्न मातहतका अस्पताल र स्वास्थ्य संस्थालाई निर्र्देशन दिइसकेको छ ।




