उड्डयन प्राधिकरणका कर्मचारी आफैले विमानस्थल बाहिर सुन पुर्याउने खुलासा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८२, आइतबार

उड्डयन प्राधिकरणका कर्मचारी आफैले विमानस्थल बाहिर सुन पुर्याउने खुलासा

airport2

काठमाडौं, ३ पुस । तस्करी गरेर ल्याएको सुन राख्न नागरिक उड्डयन प्राधिकरण क्यानका कर्मचारी र तस्करको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको अपांगमैत्री शौचालयभित्रको दराज प्रयोग हुने गरेको पाइएको छ ।

दराज खोल्ने दुईवटा चाबीमध्ये एउटा क्यानका कर्मचारी र अर्को सुन बोक्ने भरियाले लिने गरेको खुलासा भएको छ । उनीहरूकै सेटिङमा दराजमा राखिएको अवैध सुन सीटीभीटी, प्रहरी र भन्सार कर्मचारीको पहुँच बाहिरको चोरबाटोबाट क्यानकै कर्मचारीले विमानस्थल बाहिर पु¥याउने गरेको समेत खुलेको छ ।

गत मंसिर २१ गते मध्यरात त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद भएपछिको अनुसन्धान र छानबिनमा शौचालयभित्र रहेको दराजमा यसअघि पनि पटक–पटक तस्करी गरेर ल्याएको सुन लुकाउने गरेको प्रमाण भेटिएको भन्सार विभागले जनाएको छ । भरियाले दुबईबाट ल्याएको अवैध सुन प्लेनबाट ओर्लनेबित्तिकै शौचालयमा छाडेर विमानस्थलबाट बाहिरिँने त्यसपछि त्यो सुनलाई उपयुक्त समयमा क्यानका कर्मचारीले विमानस्थलको आपत्कालीन ढोका, छत, शव निकाल्ने ढोका हुँदै चोरबाटोबाट बाहिर निकालेर फेरि अर्को भरियाको जिम्मा लगाउने गरेको खुलेको छ ।

सुन ल्याउन अह्राउने, ल्याउने र विमानस्थलबाट बाहिर निकाल्ने काममा सहभागी १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको विभागले जनाएको छ । दराजमा राखिएको सुन निकाल्न प्राधिकरणका ४ कर्मचारीको प्रत्यक्ष र ३ जनाको अप्रत्यक्ष रूपमा संलग्नता रहेको पाइएको छ । सुन तस्करीबारे छानबिन गर्न विभागले निर्देशक मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । एक पटक सुन ल्याउँदा तस्करले प्राधिकरणका कर्मचारीलाई १ लाख १५ हजार रुपैयाँ दिने गरेको समेत छानबिनमा खुलेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);