काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता पछिको विकास सन्तोषजनक रहेको बताउनुभएको छ । सोमवार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारलाई जनताको प्रत्यक्ष नियन्त्रण, निगरानी र हस्तक्षेपको रुपमा जनताको सरकारक भनि परिभाषित गरिएपछि भएका विकास उत्साहवद्र्धक रहेको दाबी गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई वागमती नदी तथा तीनकुनेमा भएको हस्तक्षेप र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आफूले जति पहल गर्ने अर्को प्रतिनिधि देख्नुभएको छ ? भन्दै प्रश्न गर्नुभयो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गर्नुभयो । तीन तहकै सकारले एकआपसमा सहकार्य गरे विकासको क्षेत्रमा धेरै अघि बढ्न सकिने प्रष्ट पार्नुभयो ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग गरेर सम्पदा क्षेत्र निर्माण हुन नसक्ने ठोकुवा गर्नुभयो । त्यसैगरी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको विकास एकै पटक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले उपत्यकाको फोहर व्यवस्थापन र खोला अतिक्रमण नियन्त्रणमा सहयोग गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गर्नुभयो ।
प्रमुख साहले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।