एजेन्सी, २९ मंसिर । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशको सुनुवाई गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । सर्वाेच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध १० वटा उजुरी परेका छन् ।
प्रस्तावित न्यायाधीश सारंगा सुवेदीविरुद्ध ६ वटा उजुरी परेका छन् भने भने टेकप्रसाद ढुङ्गानाविरुद्ध ३ र अब्दुल अजिज मुसलमानविरुद्ध एउटा उजुरी परेको छ । यसअघि आइतबार बसेको समिति बैठकमा उजुरीकर्तालाई बोलाएर छलफल गरिसकेको छ । आजको बैठकले सुनुवाई गरी नाम अनुमोदन गर्ने तयारी छ ।
न्यायपरिषदले सर्वोच्चको न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गानालाई सिफारिस गरेको छ । वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल पनि सर्वाेच्च अदालतको प्रस्तावित न्यायाधीशमा सिफारिस हुनु भएको छ ।