काठमाडौं, २० कार्तिक ||
नेकपा(एकीकृत समाजवादी)ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सोमवार बसेको नेकपा(एकीकृत समाजवादी)को सचिवालयको बैठकले केही दिन अघि जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सो रकम पार्टी कार्यकर्ताहरुबाट संकलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । त्यसका लागि पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु र जनप्रतिनिधिहरु एवं राजनीतिक नियुक्तिमा जानुभएका व्यक्तिहरुबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उहाँले बताउनु भयो । बैठकले भुकम्प प्रभावित स्थानमा उद्धार, राहत र पुनःस्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि एक कार्यदल पनि गठन गरेको छ । प्रवक्ता खतिवडाकाअनुसार सो कार्यदलको संयोजक पार्टीका उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहनुभएको छ । सदस्यहरुमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपार्इं, सांसद अमरबहादुर थापा, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का र पार्टीका प्रदेश सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी र पश्चिम रुकुम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षहरु रहनुभएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले पार्टीले असोज १४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको समाजवादी जागरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ । प्रवक्ता खतिवडाले अभियानले नयाँ संविधानमा व्यवस्था गरिएको समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको बिस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरिएको बताउनु भयो । उहाँले सो अभियानबाट समाजवादको प्रारम्भिक अवस्था नेपालको कृषि क्रान्तिबाट शुरु हुन्छ भन्ने कुरालाई स्थापित गरेको पनि बताउनु भयो ।
बैठकले पार्टीको महाधिवेशन माघ महिनामा काठमाडौंमा गर्ने तय गरेको छ । प्रवक्ता खतिवडाले भोलि(मंगलबार) पार्टी अध्यक्ष माधवकुमार नेपाल लगायत १५ सदस्यीय टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जाने जानकारी पनि दिनुभयो ।