काठमाडौं, १३ कात्तिक । सन् २०२४ मा आयोजना हुने आईसीसी टि–२० विश्वकप क्रिकेटमा छनोटका लागि आज नेपालले सिंगापुरसँग प्रतिष्पर्धा गर्दैछ । आजबाट एशियाली क्षेत्रका आठ वटा राष्ट्र कीर्तिपुर र मुलपानी रंगशालामा प्रतिष्पर्धा गर्दैछन् । छनोट प्रतियोगिताको पहिलो दिन आज चारवटा खेल हुनेछन् ।
कीर्तिपुर मैदानमा नेपाल र सिंगापुरबीच खेल हुनेछ । उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजे शुरु हुनेछ । सोही समयमा मुलपानी क्रिकेट मैदानमा बहराइन र युएईबिच दोस्रो खेल हुनेछ । यसैगरी सोमवार नै कीर्तिपुर मैदानमा मलेसिया र ओमानबिच तेस्रो खेल हुनेछ ।
खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे शुरु हुनेछ । सवा १ बजे नै मुलपानी क्रिकेट मैदानमा हङ्कङ र कुवेतबीच अर्को खेल हुनेछ । आगामी टी–२० विश्वकपका लागि एशियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी–२० विश्वकपमा छनोट हुनेछन् ।