चिनीबिना नै उपभोक्ताले दशैँ मनाए | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

चिनीबिना नै उपभोक्ताले दशैँ मनाए

chini

काठमाडौं, १२ कात्तिक । असोज अन्त्यतिर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लाख ८० हजार क्विन्टलभन्दा बढी चिनी बजारमा बेच्न चिनी उद्योगीसँग सहमति गरे पनि चिनीबिना नै उपभोक्ताले दशैँ मनाएका छन् ।

बजारमा अभाव र कालोबजारी हुन सक्ने सामानलाई प्रतिस्पर्धात्मक बनाउनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेट र साल्ट ट्रेडिङ कर्पोरेसन हुँदाहुँदै व्यापारीलाई नै चिनी बेच्नुपर्छ भनी विभागले सहमति गरेसँगै झनै कालोबजारी मौलाएको हो ।

विभागले कार्तिक २ गते बुधबारबाट १ सय १५ रुपियाँमा खुद्रा पसलेले चिनीको आपूर्ति सहज बनाएको दाबी गरे पनि उपत्यकाका अधिकांश पसलमा चिनीको छैन । विभागका महानिर्देशक तीर्थराज चिलुवालले विभागकै सहमतिमा एभरेस्ट र हिमालयन सुगर मिलमा रहेको १ हजार मेट्रिक टन चिनी बजारमा बेच्न पढाइएको बताउनुभयो । उहाँले केही दिन अगाडि ११ ओटन चिची मिलको स्टक निरीक्षण गर्ने क्रममा अन्यमा मौज्दात नरहेको बताउनुभयो ।

अहिले भएको चिनी कोक र पेप्सीका लागि बेच्न राखेको चिनी बजारमा पठाएको उहाँले बताउनुभयो । ५० हजार मेट्रिक टन भारतबाट मगाएको नआएपछि चिनीको अभाव भएको विभागले जनाएको छ । चाडवाडको समयमा गुलियो परिकार पकाएर खाने नेपालीका लागि यसपालिको दशैँमा भने मासुभातमा मात्र सीमित हुनुपरेको छ । अन्य बेलाको तुलनामा चाडवाडका बेला चिनीको माग ह्वात्तै बढ्ने गर्छ । यस्तो बेलामा चिनीको मागलाई सरकारले नै ख्याल नगर्दा उपभोक्ताले दुःख पाएका छन् ।

यस्तै खुद्रा व्यापार संघका कोषाध्यक्ष वसन्त श्रेष्ठले कार्तिक १ गते मंगलबारसम्म नपाइएको चिनी बुधबारबाट केही होलसेलरहरुले बेचेको बताउनुभयो । उहाँले यसो भनी रहँदा चिनी आवश्यक पर्नेहरुले पनि मिश्रीबाट काम चलाइरहेको पाइएको छ । काठमाडौं भीमसेनगोला बस्ने चिरकाजी महर्जनले आफूले अधिकांश पसलमा चिनी खोजे पनि नपाइएपछि मिश्रीले काम चलाएको बताउनुभयो । साल्ट ट्रेडिङका अनुसार अहिले कम्पनीले किलोको ९७ रुपियाँमा चिनी बिक्री गरिरहेको छ । यद्यपि उसले पनि मागअनुसार चिनी आपूर्ति गर्न सकेको छैन । साल्ट ट्रेडिङ लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थानलगायतले काठमाडौं उपत्यकाभित्र तीनवटा घुम्तीसहित ३५ वटा सुपथ मूल्य पसलहरू सञ्चालनमा ल्याएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

त्यसबाहेक देशका विभिन्न भागमा पनि यस्ता पसलहरू सञ्चालनमा ल्याइएका छन् । केही अघि बजार अनुगमनका क्रममा सरकारले जफत गरेको ७ सय क्विन्टल चिनी साल्ट ट्रेडिङलाई बिक्रीका लागि दिएको थियो । त्यसैलाई अहिले कम्पनीले बिक्री गरिरहेको छ ।

चिनीमा कालोबजारी

बजारमा चिनीको अभाव देखिएसँगै व्यापारीहरुले चिनीको मूल्य बढाएका छन् । गत असोज महिनासम्म ९५ रुपियाँ प्रतिकेजीमा उपलब्ध चिनीको मूल्य यति बेला प्रतिकेजी १ सय ७० रुपियाँसम्म बिक्री भइरहेको उपभोक्तहरुले बताउने गरेका छन् । गत कार्तिक १ गतेसम्म मंगलबारसम्म बजारमा अभाव देखिएको चिनी एकाएक बुधबारबाट महँगो मूल्यमा बजारमा पाउन थालिएको छ । यसरी कालोबजारीमा बेचिने चिनी भने व्यापारीले आफूले चिनेका र व्यापारीलाई मात्र दिने गरेको उपभोक्ताले बताउने गरेका छन् ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद अधिकारी चिनीको विषयमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरिरहेको र वाणिज्य विभाग, स्थानीय सरकारको पनि दायित्व भएको हुनाले सबैको सहमतिमा अनुगमनको आवश्यक रहेको बताउनुभएको छ । बजारमा चिनीको मूल्य बढी लिइएको पाइए कारबाहीका लागि जानकारी गराउन अनुरोध गर्नुभएको छ ।

सीमा जोडिएका ठाउँमा भारतीय चिनी

तराईका जिल्लाहरुमा चिनीको खुद्रा मूल्य १ सय रुपियाँमा चिनी पाइने गरेको छ । सर्लाहीको मलंगवा, हरिऔन, वरहथवा, लालबन्दीजस्ता ठाउँको अधिकांश पसलमा चिनी मौज्दात रहेको पाइएको छ । चिनीको अभाव नरहनुमा भारतीय खुला बजारबाट चोरी भएर आएको स्थानीयहरुले बताएका छन् ।

सरकार दाबी
विभागका अनुसार अनुसार अहिले सरकारले खाद्य तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको जनाएको छ । त्यस क्रममा साल्ट ट्रेडिङले १५ दिने बोलपत्र आह्वान गरेर त्यसको मूल्यांकन गर्ने क्रममा रहेको छ भने खाद्यले ४५ दिने सूचना निकाल्नुपर्ने भएकाले अझै बोलपत्रको अवधि बाँकी रहेको छ । विभागले अहिले ठेकेदारको मूल्यांकनको चरणमा रहेको तर भारतले चिनी निर्यातमा गरेको कडाइका कारण समस्या परेको जनाएको छ । उनले सबै प्रक्रिया पूरा गरेर पहिलो चरणमा १० हजार मेट्रिक टनमध्ये तिहार अगाडि नै २ हजार ४ सय मेट्रिक टन चिनी ल्याउने प्रयासमा कम्पनी रहेको छ । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);