बजेट अभावले महाकाली पुल आयोजनाको काम रोकियो | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

बजेट अभावले महाकाली पुल आयोजनाको काम रोकियो

पुष्कर भट्ट,कञ्चनपुर,१ कार्तिक । राष्ट्रिय प्राथमिकता प्राप्त कञ्चनपुरका महाकाली पुल आयोजना निर्माण कार्य चौथो पटक थपिएको म्यादभित्र पनि पूरा नहुने भएको छ । मुलुककै आर्थिक समृद्धिसँग जोडिएको सो पुल निर्माणका लागि बजेट प्राप्त नहुँदा निर्माण कार्य रोकिएकोे छ । बजेट अभावका कारण राष्ट्रिय प्राथमिकता प्राप्त महाकाली पुल आयोजनाको काम रोकिएको छ । गत वर्ष गरिएको कामको समेत भुक्तानी नपाएपछि निर्माण कम्पनीले काम राकेकोे हो ।

निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले गत वर्षको ८ करोड र यस वर्षको १९ करोड गरी २७ करोड भुक्तानी हुन बाँकी रहेको बताए । गत वर्ष २२ करोडको काम भएको र जसमध्ये यस वर्षको बजेटबाट १४ करोड भुक्तानी भएको छ । यस वर्ष १९ करोडको काम भए पनि भुक्तानी नभएको उनले बताएका छन् ।

महाकाली पुल योजना कार्यालय महेन्द्रनगरले चालु आर्थिक वर्षमा विनियोजित भएको बजेट निमार्ण व्यवसायीको काम गरेको रमक भुक्तानी गर्न समेत नपुग्ने जनाएको छ । सरकारले न्युन बजेट विनियोजन गर्दा पुल निर्माणका अन्य कार्य अलपत्र पर्ने चिन्ता बढेको छ ।

महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका इन्जिनियर सविना रानाभाटले बजेट अभावकै कारण गत वर्ष समेत निमार्ण व्यवसायिलाई काम गरेको रकम भुक्तानी गर्न नसकिएको बताइन । पुल निमार्णको भौतिक प्रगति ९२ प्रतिशत भइसकेको छ । पुल निमार्ण सम्पन्न भएर महेन्द्रनगर–दोधारा चाँदनी आवतजावत सहज भएको छ । तर पुलसँगै बन्ने अन्य संरचनाका लागि पर्याप्त बजेट विनियोजिन नहुँदा निमार्ण व्यवसायीले काम गर्न सक्ने अवस्था नरहेको भन्दै काम ठप्प पारेको छ । अहिले पहुँचमार्गसँगै पुलको दुवैतर्फ पोखरी निर्माणको काम बाँकी नै छ।

पुल निरीक्षणका लागि प्रधानमन्त्रीदेखि बहालवाला मन्त्री यहाँ पुगे पनि पुल निमार्णमा देखिएका समस्या समाधान हुन सकेका छैन । गत महिना प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले महाकाली पुलको स्थलगत निरीक्षण गरेर बजेट अभावकै कारण पुल निमार्ण नरोकिने आश्वासन दिएका थिए । तर, निमार्ण व्यवसायीले काम गरेको पैसा नपाएको र पैसा पाउने सुनिश्चितता नभएको भन्दै काम बन्द गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंगबहादुर मल्लले महाकाली पुल आयोजना सुदूरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएकाले सरकारले प्राथमिकतामा राखेर समयमै सम्पन्न गर्नुपर्ने बताए ।’ पुललाई पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा विकास गर्न पुलको दुवैतर्फ २६÷२६ सय मिटर लम्बाईका पोखरी निमार्ण भइरहेका छन् । तीन वर्षअघिदेखि नै पुलमा आवागमन चलिरहेको छ। पुलमै निर्माणको काम चलिरहेका बेला केही अवरोध हुने भएपछि अन्य समयमा भने दोधारा चाँदनीवासीका लागि पुलले निकै राहत पु¥याएको छ।

महाकालीपारीको बस्तीलाई यही पुलले सडक सञ्जालसँग जोडेको छ। २०७४ भदौमा ठेक्का सम्झौता भएर काम सुरु भएको पुल निमार्णको काम २०७७ भदौमा सम्पन्न गर्ने भनिए पनि काम सम्पन्न नहुँदा म्याद थप गरिएको थियो । २०८० चैतभित्र सबै काम सम्पन्न गर्नुपर्ने भएपनि बजेट अभावका कारण आयोजनाको काम पछि धकेलिदै गएको हो।कञ्चनपुर जिल्लालाई त्रिदेशीय नाकाको रुपमा विकास गरि स्थानीय/प्रादेशिक स्तरका साथै मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने उदेश्यका साथ माहाकाली नदीमा चार लेनको पुलको निर्माण शुरु भएको हो । पुल निर्माणका लागि ३ अर्ब ६६ करोडमा ठेक्का सम्झौता भएको थियो।

महाकाली पुल निर्माण संगै पुलको दुवैतर्फ ९१ हेक्टर क्षेत्रफलमा चार वटा कृतिम तालहरु निर्माण गरिने हुदा यस स्थानमा आन्तरिक तथा वाह्रा पर्यटकहरुको आगमनले स्थानीय तथा प्रादेशिक स्तरको पर्यटन प्रवर्धनमा टेवा पुर्याउनका साथै महाकाली नदीको दाया दाया तटीय क्षेत्रहरुमा बसोबास गर्ने बाढीको उच्च जोखिममारहेका स्थानीय बासिन्दाहरुलाई राहत हुनुका साथै नदी नियन्त्रण कार्यमा दुरगामी सहयोग पुग्ने हुंदा नेपाल सरकारले महाकाली पुल आयोजनामा प्रयाप्त बजेट हाल्न जरुरी देखिन्छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);