काठमाडौं, ३ कात्तिक । नेपालीहरुको महान पर्व बडा दशैं अन्तर्गत नवरात्रको छैटौं दिन, दुर्गा भवानीको छैटौ स्वरुप कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । दुर्गा भवानीका नौ रुप मध्ये हो । नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डाको र पाँचौ दिन स्कन्दमाताको पूजा गरिएकोमा आज कात्यायनी देवीको श्रद्धापूर्वक पुजाआज गरिदै छ ।
कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहरूबाट हुने बिघ्नबाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक वचन छ । कात्यायनीको उपासनाबाट रोग, शोक, सन्ताप, भय आदि नष्ट हुने धार्मिक विश्वास रहि आएको छ । नवरात्री सुरुदेखि नै राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लागेको छ ।
त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थी पुगेका छन् । उपत्यका बाहिर ताप्लेजुङको पाथिभरा, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा नवदुर्गा अवधिभर भक्तजनको भीड लाग्ने गर्दछ । दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।