काठमाडौं, ५ असोज । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच आज पुनः वार्ता हुने भएको छ । गृह मन्त्रालयमा बिहीबार २ पटकको वार्ता टुंगोमा नपुगेपछि आज बिहान ९ बजे फेरि वार्तामा बस्ने समझदारी गरिएको हो वार्ताको नेतृत्व सरकारका तर्फबाट शिक्षा सचिव सुरेश अधिकारीले तथा महासंघ तर्फबाट भने अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदीले वार्तामा नेतृत्व गर्नुहुने छ ।
बिहीबार अनौपचारिक वार्ता भएको हो । शिक्षा मन्त्रालयले औपचारिक वार्ताका लागि पत्राचार गरेपछि आज फेरि छलफल हुने भएको हो । त्यो वार्ता समितिको निष्कर्ष मन्त्रीहरु सम्मिलित उच्चस्तरीय सरकारी टोलीमा पेस गरेर अन्तिम रुप दिइने बताइएको छ ।
सरकारी वार्ता टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मा र सम्बन्धित मन्त्रालयका सचिवहरु हुनुहुन्छ । यस्तै महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि छन् ।०००