काठमाण्डौ, १ आश्विन
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको बताउनु भयो । उहाँले सबै सो षड्यन्त्रबाट होशियार रहन आग्रह गर्नुभयो । उहाँले गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरुको रहेको बताउनु भयो । गठबन्धन बनाउने काममा भुमिका आफूहरुले नै खेलेको भन्दै गठबन्धन पनि आफूले नै जोगाउनुपर्ने बताउनु भयो । अनुचित कुराका बिरुद्धमा संघर्ष गर्ने र नयाँ स्तरको उन्नत कम्युनिष्टहरुको एकता कायम गर्दै अघि बढ्ने नीति आफूहरुको रहेको बताउनु भयो ।
अध्यक्ष नेपालले व्याख्यात्मक घोषणाको रुपमा एमसीसी पास नगरेको भए नेपालको हात तल पर्ने, नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने दाबी गर्नुभयो । उहाँले व्याख्यात्मक घोषणापछि मात्रै पास गर्नाले विदेशीको गुलाम बन्नु नपरेको बताउनु भयो । उहाँले एमसीसीको घोर बिरोध गरेको कारण वाहवाही पाउने भए मजदुर किसान पार्टी र मोहनविक्रम सिंहको पार्टीले सय सिट कटाउने बताउनु भयो । अध्यक्ष नेपालले एमसीसीको बिरोध गर्न लगाएर आफ्नो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भएको बताउनु भयो ।