काठमाडौँ, २२ भदौ । नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपे र नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा ‘एन.आई.पी.यल’ द्वारा नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यु.आर भुक्तानी सेवा सुरु हुने भएको छ । साझेदारीको सुरुवात ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो ।
फोनपे, र एन.आई.पी.यल बिचको यो सहकार्यले दुवै मुलुकका लाखौँ नागरिकहरूलाई यी दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्यु.आर कोडमार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मदत गर्ने कम्पनीले विश्वास लिएको छ।
उक्त सेवाको लागि दुवै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेको जानेका छन् । यसको प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ । प्राविधिक एकीकरणको समाप्ति पश्चात् यी दुई कम्पनीहरू आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरूलाई सेवा प्रदान गर्न सक्षम हुने जनाइएको छ ।
कम्पनीले लाखौँ उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिने दाबी गरेको छ । दुई कम्पनी बिचको यस रणनीतिक साझेदारीले दुवै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढवा दिने र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाको रुपमा साबित हुने विश्वास लिएका छन् ।
“यो उल्लेखनीय प्रक्षेपण, दुवै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबिचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्त्वपूर्ण कदम हो। यस पहलले दुई देश बिचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउनेछ र अन्ततः समृद्धि र विकासलाई बढवा दिनेछ ।”– फोनपेका सभापति तथा एफ.वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले बताए ।
एन.पीसी.आई इन्टरनेशनल पेमेन्ट्स लिमिटेडको अनुसार “यस पहलले नवप्रवर्तन प्रति रहेको हाम्रो प्रतिबद्धतालाई जनाउँछ । यु.पि.आई एप्सले सहज क्रस बोर्डर भुक्तानीहरूलाई सक्षम पार्नेछ र मानिसहरूको कारोबार गर्ने तरिकालाई वृद्धि गर्नेछ। फोनपेसँगको यस साझेदारीलाई हामीले वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरक मानेका छौँ।“