काठमाण्डौ, १८
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्शा (चुच्चे नक्शा) लाई मान्यता दिन कुटनीतिक नोट पठाउनुपर्ने बताएको छ ।
एमालेका सचेतक महेश बर्ताैलाले चीनले आफ्नो नयाँ नक्शा जारी गर्दा नेपालको पुरानै नक्शा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सो बारे कुटनीतिक नोट तत्काल पठाउनुपर्ने बताउनुभएको हो । सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले चीन सरकारलाई सो नक्शा सच्याउन नेपाल सरकारले अविलम्व पहल गर्नुपर्ने बताउनु भयो ।
चीनले नेपालको नक्शा पनि समेटदा पुरानै नक्शालाई मान्यता दिनु दुःखद् भएको उल्लेख गर्दै सचेतक बर्तौलाले त्यसलाई कुटनीतिक माध्यमबाट सच्याउनका लागि नेपाल सरकार लाग्नुपर्ने बताउनु भयो ।सचेतक बर्तौलाले एमाले आफ्नो एक ईन्च भूमि छोड्ने पक्षमा नरहेको दोहो¥याउनु भयो । उहाँले नेपालको भुगोलबारे अन्यथा टिप्पणी गर्ने अधिकार अरु राष्ट्रलाई नभएको पनि दोहो¥याउनु भयो ।