काठमाडौं,७ भदौ । बारामा गए राति तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनापछि फरार चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ । उनीहरुलाई धनुषाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भए । घाइतेहरुको हेटौंडालगायतका अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंबाट महोत्तरीको लोहरपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा मुत्यु हुनेमा ४ महिला र ३ पुरुष रहेको बुझिएको छ । त्यसमा पनि ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको प्रहरीले जनाएको छ ।
२७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट करिब १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । बसका चालक र सहचालक भने फरार थिए ।